१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

बाइस हजार ब्रोइलर कुखुरा मरे



  • आफ्नै खबर
  • २८ असार २०८१ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या १६४
  • नवलपरासी/  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिनुभयो । फार्मका तीनवटा कोठामा विद्युत् आपूर्तिमा समस्या भएपछि कुखुरा मरेका हुनसक्ने उहाँले बताउनुभयो ।

    ‘वातानुकुलित (एसी) जडान गरिएको फार्ममा बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ’, प्रनाउ पौडेलले भन्नुभयो, ‘अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ ।’ टण्डनले पाल्नुभएको कुखुराको बीमासमेत नभएको उहाँले बताउनुभयो । 

    ‘बीमा कम्पनीले सरकारबाट पाउनुपर्ने प्रिमियम नपाएपछि पंक्षी बीमा रोकिएको रहेछ’, पौडेलले भन्नुभयो, ‘त्यसैले कुखुराको बीमा भएको देखिएन ।’ फार्ममा रहेका अन्य धेरै कुखुरासमेत झोक्राइरहेको भन्दै ती कुखुरासमेत मर्नसक्ने सञ्चालकलाई उदृत गर्दै पौडेलले बताउनुभयो । 

    मरेका कुखुराको सङ्ख्या यकिन गर्न फार्म सञ्चालक, स्थानीय जनप्रतिनिधि र प्रहरीहरु खटिएका छन् । गर्मीका कारण वा कुनै रोगको सङ्क्रमणले ती कुखुरा मरेका हुन् सोबारे अनुसन्धान भइरहेको प्रनाउ पौडेलले जानकारी दिनुभयो ।