पाल्पा/ जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका २१ सामुदायिक विद्यालय र एउटा क्याम्पसका साधारण र उच्च प्राविधिक तथा विज्ञानतर्फ अध्ययनरत १ सय ३२ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो ।
४ वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ । नगरपालिकाले ल्याएको ‘मेयर छात्रवृत्ति’कार्यक्रमबाट यस वर्ष १ सय ३२ विद्यार्थी लाभान्वित भएका छन् । विपन्न, गरिब, असहाय बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आइरहेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले ४ लाख ६६ हजार ६ सय रुपैयाँ छात्रवृत्तिस्वरुप वितरण गरेको जनाउँदै नगरप्रमुख थापाले छात्रवृत्ति पाउनेमा साधारणतर्फ १ सय २४ र उच्च प्राविधिक तथा विज्ञानतर्फ ८ जना विद्यार्थी रहेका बताउनुभयो । साधारणतर्फ बालहित, वीरेन्द्र, कालिका, अकला, मदरसा नुरुलहोदा अहले सुन्नत, विपी आदर्श र शारदाशरण प्राविका २/२ जना विद्यार्थी छनोट गरिएको थियो ।
रामपुर आधारभूत विद्यालयमा ४, दरैठाँटी माविमा १०, रामतुलसी नमूना माविमा १४ जना विद्यार्थी छनोट भएका नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गङ्गा, सीता, सरस्वती, कृष्णादेवी, आधारभूत, जनविकास, नवदुर्गा, कालिका र सीताराम माविबाट ६/६ जनाले १५ हजार रुपैयाँका दरले छात्रवृत्ति पाएका छन् ।
उच्च प्राविधिक तथा विज्ञानतर्फ दरैठाँटी माविमा २ जनालाई ८ हजार रुपैयाँ, आधारभूत मावि र रामतुलसी नमूना माविमा ३/३ जनालाई छात्रवृत्तिस्वरुप १२/१२ हजार रुपैयाँ रकम वितरण गरिएको छ । साथै शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीलाई भर्ना शुल्कबापत २ लाख १६ हजार ६ सय रुपैयाँ प्रदान गरिएको नगर शिक्षा अधिकृत काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरले विद्यार्थीको अवस्था र सङ्ख्याको अनुपातका आधारमा छात्रवृत्ति दिँदै आएको छ । यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको हो ।
-रासस
प्रतिक्रिया दिनुहोस