म्याग्दी/ म्याग्दीका करिब ७ सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट ६ सय ९८ घरमा खानेपानीको पहुुँच पुगेको हो ।
प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त ८ वटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा विभिन्न ७ खानेपानी योजना सम्पन्न भएर २ सय ९ घरमा खानेपानीको मिटर जडान गरिएको थियो ।
घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।
कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा १ वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ । १ वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस