१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

यार्सा खोज्दा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग



  • आफ्नै खबर
  • २ साउन २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या १७३
  • मुगु/  यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।  

    टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, १ केजी दाल, १ लिटर खानेतेल, ४ केजी नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी प्रदान गरिएको हो । मृतकका परिवारलाई सोही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार नगद १२ हजार रुपैयाँ प्रदान गरिएको छ । 

    यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का १ जना र वडा नं १२ का ३ जना युवाको मृत्यु भएको छ । १ याममा १ परिवारले यार्सा बेचेर कम्तीमा ३ लाख रुपैयाँ आम्दानी गर्ने गर्छन् । १५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च जुटाउनुपर्ने भएकाले घर नै खाली गरेर गाउँगाउँबाट युवायुवती यार्सा पाटन पुग्ने गरेका छन् ।

    यार्सा पाटनमा मृत्यु भएका तथा बिरामी परेका  परिवारले अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको छायानाथ रारा नगरपालिका– १० की सिर्जना कुमाइले बताउनुभयो । टेवाबाट प्राप्त सहयोगका निम्ति उहाँले आभार व्यक्त गर्नुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?