१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

प्रवर्द्धन कार्यक्रमले वढायो खालुखेती



  • आफ्नै खबर
  • ३ साउन २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या ८१
  • बागलुङ/  आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत २ हजार ७ सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको हो ।

    ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत ३ करोड ६० लाख रुपैयाँ बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।

    आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर २ हजार ७ सय ६३ रोपनीमा आलु उत्पादन गरी  बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । 

    कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको छ । सहकारीमार्फत कृषि उपजको उत्पादन गर्दै आएकामा आलु प्रवर्द्धन कार्यक्रमले सहकारीलाई राहत मिलेको जैमिनी नगरपालिका–४ सर्कुवास्थित साना किसान कृषि सहकारीका अध्यक्ष प्रभाकर पौडेलले बताउनुभयो ।

    अदुवा र बेसारखेतीलाई प्रोत्साहन गर्दै आएको सहकारीले चालु आवमा खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३५ रोपनी जग्गामा आलुखेती गरेको बताउनुभयो । उहाँले ४ मेट्रिक टन आलु उत्पादन गरेर सहकारीमार्फत बेचिएको जानकारी दिनुभयो ।

    बागलुङ आलु उत्पादनका लागि उर्वर जिल्ला मानिन्छ । विशेषगरी ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा अधिक आलु उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?