१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पहाडको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन



  • आफ्नै खबर
  • ४ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ४२
  • खोटाङ/  यस वर्ष खोटाङमा १ सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष १ सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । 

    १० स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावा बेसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । 

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा ९ मेट्रिक टन, बराहापोखरीमा ०.५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८.५०, साकेलामा ६ मेट्रिक टन, केपिलासगढीमा ०.५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा १ मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताउनुभएको छ । ‘जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘यसप्रति ३ वटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।’

    जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।

    लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । १ पटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?