बर्दिया/ पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।
कोभिडपछि थलिएको यहाँको पर्यटन व्यवसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनुभयो । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार ३ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । त्यसबापत निकुञ्जलाई २ करोड २२ लाख रुपैयाँ आम्दानी भएको वाग्लले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार १ सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन् । गत आवमा निकुञ्जले २ करोड ८४ लाख रुपैयाँ पर्यापर्यटनमार्फत आम्दानी गरेको छ ।
पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताउनुभयो । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जभित्रको पूर्वाधारसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताउनुभयो । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुशी भएका छन् ।
पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताउनुभयो । यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उहाँको भनाइ छ ।
थापाले भन्नुभयो, ‘यहाँको अनुपम जैविकविविधता देखेपछि विदेशी पर्यटक आश्चर्य मान्छन् । निकुञ्जभित्र पर्यटकलाई कुनै समस्या छैन । सफारीमा जङ्गलभित्र गाडी बिग्रिएमा निकुञ्जले उद्धार गर्ने गरेको छ ।’
निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन् । अन्य देशका पर्यटक सफारी रोज्छन् । जङ्गलमा डढेलो लागेको अवस्था बाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन् ।’
निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पँक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ । विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन् । अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ ।
-रासस
प्रतिक्रिया दिनुहोस