काठमाडौ/ नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।
श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान ७/७ रनको योगदान गरे । बलिङतर्फ युएईकी कभिशा इगोडागेले ३ र लभन्या केनीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बलमा २ चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन् । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे ।
नेपालको लागि इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान १÷१ विकेट लिए । नेपालले अब दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।
-रासस
प्रतिक्रिया दिनुहोस