१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण



  • आफ्नै खबर
  • ७ साउन २०८१ सोमबार (४ महिना अघि)
  • पाठक संख्या २५२
  • मुस्ताङ्/  मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । 

    गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो । आर्थिक वर्ष २०८०/८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख रुपैयाँ खर्च गरेको छ । 

    घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार रुपैयाँ र गाउँपालिकाको थप २८ लाख ५८ हजार रुपैयाँ बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिनुभयो । ‘दुईवटा वडाका १४–१४ जना बेरोजगार युवालाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो’, उहाँले भन्नुभयो, ‘साँघुरो र जोखिमयुक्त ठाउँमा ४ फिट फराकिलो पदमार्ग बनाएर सहज रूपमा आवतजावत गर्न सकिने बनाइएको छ ।’ 

    झोरखोलाबाठ–नमखुलेक खर्क–निलगिरि आइसफल–६ मा ताल पहुँच मार्गको सोचिलेकसम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताउनुभयो । एक्यापमार्फत ५ हजार एक सय २० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र ६ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको रेञ्जर सञ्जोक थकालीले जानकारी दिनुभयो ।

    जोमसोम–ठनी हुँदै बढीमा ३ दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको रेञ्जर थकालीले बताउनुभयो । 

    प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडाच्याङग्रा तथा चौँरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

    यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको २७ लाख ३२ हजार रुपैयाँ बजेटमा तिलिचो ताल जोड्नेसहित ६ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ । उपभोक्ताले १ लाख ३२ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् । 

    ५–५ लाख रुपैयाँ बजेटमा थासाङ गाउँपालिकाको घैकु–मिसी–लेते–कालोपानी पदमार्गमा ४ सय ५० मिटर मर्मत र चोखोपानी क्षेत्रमा ६५ मिटर पदमार्ग निर्माणका साथै ५५ थान ग्यावियन पर्खाल निर्माण भएको छ । १ लाख रुपैयाँ बजेटमा सौरु सिरकुङ–ताग्मी–फुरतमी क्षेत्रमा २ वटा सल्याब, १२ थान ग्यावियन बक्स राखेर पदमार्ग मर्मत गरिएको छ । 

    जोमसोम–कागबेनी–मुक्तिनाथ सडक बनेपछि पहिचान भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ–लुप्राखोला पदमार्गमा २ हजार १ सय ७९ मिटर र मनाङ हुँदै ५ हजार ४ सय मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङ आउने बाटोमा ७ सय १९ मिटर पदमार्ग निर्माण भएको छ ।

    -रासस


     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?