तनहुँ/ व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो ।
पुरक पाठ्यक्रमको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म १ सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जना मगर भाषाका विज्ञहरूले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुहुनेछ । उहाँले भन्नुभयो, ‘तनहुँको सबैभन्दा बढी जनसङ्ख्या भएको मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पुर्याउन पुरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको हो ।’
प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ । प्रशिक्षणले क्याम्पसलाई परिस्कृत गर्ने उहाँको विश्वास छ । क्याम्पसले यस वर्ष ४ छुट्टाछुट्टै विषयमा पुरक पाठ्यक्रम सञ्चालन गरेको छ । कक्षा १२ उत्तीर्ण ३० जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षणमा ७० प्रतिशत क्याम्पसका विद्यार्थी र ३० प्रतिशत मगर समुदायका छन् । गण्डकी र सुदूरपश्चिमका मगरभाषी युवा प्रशिक्षणमा सहभागी छन् ।
क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बद्र्धन एवं विकास समितिले प्रशिक्षणको व्यवस्थापन गरेको हो । समितिका संयोजक एवं क्याम्पस सञ्चालक समिति सदस्य क्या सोमबहादुर थापाले भाषा प्रशिक्षणले पाठ्यक्रमलाई सहज बनाउने र मगर भाषा संरक्षणमा टेवा पुग्ने बताउनुभयो । क्याम्पस प्रमुख हडखलेका अनुसार समुदाय र सरोकारवाला सङ्घ संस्थाले चासो नदिँदा अन्य आदिवासी जनजाति समुदायको भाषा र संस्कृति संरक्षण गर्न अत्यावश्यक देखिएको छ ।
उहाँले महत्व नबुझ्दा लोप हुन लागेका भाषा संरक्षण गर्ने उद्देश्यले क्याम्पसले मगर विद्यार्थी र समुदायका मगर भाषी युवालाई प्रशिक्षक बनाउन पुरक पाठ्यक्रम तयार गरी प्रशिक्षण दिन थालिएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक तथा मगर भाषा विज्ञ प्रा. डा. विष्णु सिञ्जालीले आदिवासी जनजातिका भाषा एवं संस्कृति राज्यको ठूलो पहिचान र सम्पत्ति भएको धारणा राख्नुभयो ।
जनजातिले मातृभाषा र संस्कृति संरक्षण गर्दै आए पनि राज्यले क्याम्पस तथा विश्वविद्यालयमा आदिवासी जनजातिका भाषा एवं संस्कृति अध्ययन अध्यापन र सोध तथा अनुसन्धान गर्ने वातावरण बनाउन नसकेको गुनासो उहाँको छ । आदिकवि क्याम्पसले सराहनीय कार्यको सुरुआत गरेकामा उहाँले प्रशंसा गर्नुभयो । सांस्कृतिक सम्पदा कुनै समुदायको मात्र नभइ राज्यको राष्ट्रिय सम्पदा भएकाले राज्यले संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा डा. सिञ्जालीले जोड दिनुभयो ।
नेपाल मगर सङ्घ केन्द्रीय निर्वाचन संयोजक सिद्धान्त गर्जामगरले २ वा २ भन्दा बढी भाषालाई स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाउने संविधानमा उल्लेख भए पनि तनहुँको कुनै पालिकाले मगर भाषालगायत भाषालाई स्थानीय कामकाजको भाषा नबनाएकोमा दुःख व्यक्त गर्नुभयो । आधारभूत तहसम्म मातृभाषामा पढाइ हुनुपर्नेमा उहाँको जोड छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वुद्धिमान श्रेष्ठले क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये ठूलो हिस्सा आदिवासी जनजाति समुदायका भएकाले भाषा र संस्कृति संरक्षण गर्न ठोस् कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस