२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’



  • आफ्नै खबर
  • ७ साउन २०८१ सोमबार (१० महिना अघि)
  • पाठक संख्या ७२
  • झापा/  मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । 

    वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । 

    प्रतिष्ठानको अगुवाइमा २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गर्नुभएको थियो । २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

    काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरु यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउनुहुन्छ । ‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरुले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्’, उहाँ भन्नुहुन्छ, ‘हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।’

    वाटिका निर्माण समितिका अध्यक्षसमेत रहनुभएका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख रुपैयाँ र मेचीनगर नगरपालिकाको ५ लाख रुपैयाँ लगानी भएको जानकारी दिनुभयो । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उहाँको भनाई छ । 

    -रासस