म्याग्दी/ मालिका गाउँपालिका–७ बिमको डाँडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।
आयोजनाबाट ५६ घरपरिवार, १ विद्यालय, १ स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो । ३ सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो ।
‘धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ’, उहाँले भन्नुभयो, ‘स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।’ स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ ।
नेवाको १७ लाख ४० हजार रुपैयाँ, गाउँपालिकाको ६ लाख २ हजार रुपैयाँ तथा आयोजना निर्माणका लागि १ लाख ६८ हजार रुपैयाँ नगद सङ्कलन गरेका उपभोक्ताहरुले ७ लाख ८५ हजार रुपैयाँबराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा ६ वटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस