१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बजार खोज्दै कृषि उपज



  • आफ्नै खबर
  • १२ साउन २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या ११२
  • म्याग्दी/  १५ वटा मुर्रा भैँसी र ८ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । 

    बेनी बजारमा प्रतिलिटर १ सय ४० रुपैयाँ का दरले दूध बिक्री हुन्छ  तर खड्का दाजुभाईले प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री गर्दा पनि बजार पाउनुभएको छैन । ‘नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु’, उहाँले भन्नुभयो, ‘बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ ।’

    १ वर्षअघि २ सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपाली १ सय ८२ वटा मात्र छन् । मासुका लागि खसीबोका र पाल्ने पाठीहरुको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताउनुभयो । 

    २ सय ५० बोट किवीलगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्वीन्टल किवी बेच्न पोखरामा भौतारिनुभयो । ‘व्यापारीले मसँगबाट प्रतिकिलो १ सय ५० रुपैयाँ का दरले किनेको किवी आँखै अगाडि २ सय ५० रुपैयाँ का दरले बेचेको टुलुटुल हेरेर बस्नुप¥यो’, उहाँले भन्नुभयो, ‘बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आएँ ।’

    भकिम्लीमा २० घरधुरीले व्यावसायिक किवी खेती गरेका छन् । यसवर्ष उत्पादन बढे पनि बजारको चिन्ताले सताएको पुनले बताउनुभयो । बिरौटाका खड्का दाजुभाई, डाडाखेतका बानियाँ र भकिम्लीका लालबहादुर कृषि उपजले बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका म्याग्दीका प्रतिनिधि कृषक हुन् । 

    २० वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले स्थानीयभन्दा आयातित फलफूल र तरकारी सस्तोमा पाइने हुँदा प्रतिस्पर्धा गर्न नसकेर किसान पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । सडक यातायातको सहज पहुँच नभएको, भण्डारण र बजारको असुविधाका कारण बर्खायाममा कृषकले उत्पादन गरेको आलु, बन्दा, दूधलगायत कृषि उपजको बजारीकरणमा समस्या भएको हो । 

    म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले गत हिउँदमा कृषक र व्यापारीलाई सम्पर्क गराएर आलु बिक्री गर्ने वातावरण बनाएको बताउँदै कृषि उपजको बजारीकरणका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । 

    कृषि उपज बजारीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको जनाएको छ । सिंगामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुलमा कृषि बजार स्थापना गर्न भवन निर्माण थालिएको बताउनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?