काठमाडौं/ राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त आयोजनाको हालसम्म ३५.३८ प्रतिशत भौतिक र ३६.६६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो । ती प्याकेजमध्ये द्रूतमार्गको ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिनुभयो ।
प्याकेज नं ११ अन्तर्गत खोकना इलाकाको ० किमीदेखि ६.५ किमीमा द्रूतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ । आयोजनाको ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छन् ।
३ सुरुङ निर्माणाधीन
परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ६ मध्ये ३ वटा सुरुङ निर्माण भइरहेका छन् भने अन्य तीन सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य जारी छ । निर्माणाधीन ३ वटा सुरुङमार्गको लम्बाइ ६.६६९ किमीमध्ये ५.५२८ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएका छन् ।
३.३२२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ हालसम्म २.०२९ किमी तथा ३.३८६ किमीको काठमाडौँ–निजगढतर्फ २.२८८ किमी सुरुङ खनिसकिएको छ । उक्त सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी राति पनि काम भइरहेको सेनाले जनाएको छ ।
निजगढ–कामाठाडौँतर्फको १.६५३ किमी धेद्र्रे सुरुङ गत जेठ ११ गते ‘ब्रेकथ्रु’ भइसकेको छ भने १.७२८ किमीको काठमाडौँ–निजगढ सुरुङ यही महिनामा ‘ब्रेकथ्रु’ गर्ने तयारी छ । लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको १.६१२ किमी र काठमाडौँ–निजगढतर्फको १.६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।
आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ वटा पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी ४ वटा पुल खोकना क्षेत्रमा रहेका छन् । उक्त क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।
निर्माणाधीन अधिकांश पुलको जमिनमुनी (फाउण्डेसन) को काम सम्पन्न भई जमिनमाथिका काम भइरहेको छ । द्रूतमार्गमा ८१ मिटर अग्ला पुल निर्माण हुनेछन् । हालसम्म ५ स्थानका पुल निर्माण भइसकेका छन् ।
जग्गा अधिग्रहणमा ढिलाइ
आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काममा ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ । आयोजनाका लागि करिब १७ हजार ६ सय ५१ रोपनी जग्गा आवश्यक पर्नेछ । त्यसमध्ये ५ हजार ४ सय ८७ रोपनी व्यक्तिको जग्गा हो ।
हालसम्म ४ हजार ८ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ३ सय ९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । खोकना–बुङ्मती खण्डमा २ सय ६ रोपनी जग्गाको मुआब्जा वितरण भएको छैन ।
आयोजना निर्माणबाट वातावरणीय क्षति हुन नदिन पर्याप्त सजगता अपनाइएको सेनाले जनाएको छ । आयोजना क्षेत्रमा हालसम्म ३१ हजार ७ सय ४३ रुख काटिएका छन् । ती रुखको सट्टामा ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोपिएका छन् ।
सुरुङ र पुल मात्र २३ किलोमिटर
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।
द्रूतमार्गमा १०.३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा १ किमी, सिसौटारमा ०.३९ किमी, चन्द्राम भीरमा २.२५ किमी, महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६९१ र लेनडाँडामा १.६२३ किमी लामो सुरुङ निर्माण हुनेछ ।
उक्त सडकमा विभिन्न स्थानमा १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा २ वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा १÷१ वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।
-रासस
प्रतिक्रिया दिनुहोस