१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

होम्ताङका हरेक घरमा बुनिन्छ नाङ्लो



  • आफ्नै खबर
  • १२ साउन २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या ७७
  • भोजपुर/  भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो हो । 

    हतुुवागढी–६ लङ्खाका ७५, विथारा १ सय ६५, लुम्बुवा १ सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक  महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउनुहुन्छ । दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उहाँको भनाइ छ । 

    यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताउनुभयो । एउटा नाङ्लो औसतमा १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

    ‘हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्’, व्यवसायी राईले भन्नुभयो, ‘हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो सङ्कलन गरेर बाहिरका बजारमा पठाउँछौँ । सरदरमा १ महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ ।’ 

    मासिक २१ लाख रुपैयाँबराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक रुपमा २ करोडदेखि २ करोड ५० लाख रुपैयाँको हाराहारीमा रकम भित्रिने गरेको बताउनुभयो । यहाँका एउटा परिवारले मासिक रुपमा न्यूनतम १ सय ५० देखि अधिकतम ३ सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् ।

    चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ । चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ । नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुहुन्छ । 

    नाङ्लो बुनेर घर खर्च चलाउँदै आउनुभएका पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताउनुभयो । १ महिनामा १ सय ५० नाङ्लो बुन्ने गरेको उहाँले बताउनुभयो । नाङ्लो बिक्रीबाट वार्षिक २ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । 

    ‘नाङ्लो घरबाटै १ सय १० रुपैयाँमा बिक्री हुन्छ’, उहाँले भन्नुभयो, ‘हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, आम्दानीको स्रोत नै यही हो । खेतबारी थोरै छ । प्रायः सबैले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?