३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

विद्युत प्राधिकरण बन्यो खुद निर्यातकर्ता, १ वर्षमा १७ अर्बको बिजुली भारत निर्यात



  • आफ्नै खबर
  • १३ साउन २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या ८८
  • काठमाडौँ आर्थिक वर्ष २०८०/८१ मा  नेपालबाट १६ अर्ब ९३ करोड बराबरको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरेको बताएको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।

    प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाखको विद्युत आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी  विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ १७ पैसा छ ।

    गत आवमा आयातभन्दा १२ करोड २३ लाखको बढी विद्युत भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको ३ वर्षमा नै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको छ । आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाखको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाखको निर्यात गरिएको थियो ।

    आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत आयात गर्नु परे पनि निर्यातको परिमाण बढ्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । विद्युतको पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । 

    नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६ सय ९० मेगावाट विद्युत निर्यात अनुमति पाएको हो । 

    कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप ४ सय मेगावाट विद्युत निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गर्नुभयो । “हरियाणा र विहार राज्यलाई बिक्री गर्ने गरी थप ४ सय मेगावाट विद्युत निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बङ्गलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दछौँ”, उहाँले भन्नुभयो । ‘लिऊँ या तिर’ सर्तसहित विद्युत् खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रूपमा खेर नगएको उहाँले जानकारी दिनुभयो ।