२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

ऐतिहासिक सम्पदाको संरक्षण गर्दै हतुवागढी



  • आफ्नै खबर
  • १४ साउन २०८१ सोमबार (९ महिना अघि)
  • पाठक संख्या १११
  • भोजपुर/  हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ । ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो ।

    गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि स्थानीय उत्साहित बनेका छन् । पालिकाले थालेको यो कामले इतिहास र यहाँका संस्कृति, परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न टेवा पुग्ने स्थानीय सञ्जय कुलुङले बताउनुभयो । इतिहाससँगै भाषा, संस्कार संस्कृतिलाई बचाई राख्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

    ‘ऐतिहासिक सम्पदा तथा संस्कार, सस्कृतिको संरक्षणमा पालिकाले गरिरहेको काम उदाहरणीय छ’, कुलुङले भन्नुभयो, ‘हाम्रा ऐतिहासिक सम्पदाको संरक्षण गरिएन भने भावी पुस्तासम्म पुग्न सक्दैनन् । कतिपय पुराना रीतिरिवाज, धर्म, संस्कार, संस्कृति रहनसहन लोप हुने अवस्थामा छन् । विभिन्न जातजाति, भाषाभाषीसँग जोडिएका सम्पदाको संरक्षणमा पालिकाले थालेको प्रयासमा हाम्रो साथ छ ।’

    पालिकाका साथै देशविदेशमा रहेकाको सहयोगमा थुलुङ समुदायको संस्कृतिसंँग जोडिएको ‘सोरिनेम तोसिखोम’ (पितृ घर) निर्माणले उत्साह थपिएको कुलुङले बताउनुभयो । परम्परागत रुपमा रहँदै आएका यस्ता संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यहाँका ऐतिहासिक सम्पदासँगै संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यहाँका ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

    ‘हतुवागढी गाउँपालिकामा धेरै ऐतिहासिक सम्पदाहरु छन्’, अध्यक्ष राईले भन्नुभयो, ‘यी सम्पदाहरुको संरक्षण, प्रवर्द्धन गरी पूर्वाधार विकासमा जोड दिएका छौँ । यी क्षेत्रको विकाससँगै पर्यटनसँग जोड्ने सोचका साथ काम गरिरहेका छौँ ।’ विभिन्न देवस्थल तथा ऐतिहासिक संरचनाको संरक्षण, पुराना रितिरिवाजको खोजी, विभिन्न जातजातिको देवाली थान, समाधिस्थल निर्माणलगायत काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

    विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरेर संरक्षण तथा विकासको काम गर्दै आइएको गाउँपालिकाले जनाएको छ । संरक्षणको अभावमा धेरै भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थालाई ध्यानमा राखेर संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक सम्पदा तथा जातजातीको धर्म संस्कार, संस्कृतिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

    ‘हामीले ऐतिहासिक सम्पदाको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, ‘यहाँका ऐतिहासिक क्षेत्रहरुको पहिचान गरेर संरक्षण, प्रवर्द्धन गर्नै आएका छौँ । यसलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीयको आयस्तर वृद्धि हुनाका साथै रोजगारीका अवसर पनि सिर्जना हुने अपेक्षा लिएका छौँ ।’

    -रासस