१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

भरतपुर आँखा अस्पतालले १ वर्षमा गर्यो ३ लाख ४० हजार जनाको उपचार



  • आफ्नै खबर
  • १६ साउन २०८१ बुधबार (४ महिना अघि)
  • पाठक संख्या ८१
  • चितवन/  नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा ३ लाख ४० हजार २ सय ६२ जनालाई आँखाको उपचार गरेको छ ।

    अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३ लाख २१ हजार ६ रहेको थियो । यो वर्ष झण्डै ६ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । 

    स्कुलमा पुगेर ३५ हजार ४ सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको घिमिरेले बताउनुभयो । चितवनसहित छिमेकी जिल्लामा अस्पताल मातहत १७ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ । 

    ती केन्द्रबाट ५२ हजार १ सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार १ सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट १ लाख ६१ हजार ७ सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा ४ प्रतिशतले बढी हो ।

    सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार ४ सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या १० हजार ४ सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा ९ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ । 

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा विशेषज्ञ सेवा सहितको अस्पताल, ३ सेकेन्डरी अस्पताल र १७ आँखा उपचार केन्द्र रहेका छन् । भरतपुर महानगरपालिका वडा नं १० मा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल रहेको छ । पर्साको ठोरी, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोती र बाराको सिम्रनगढमा आँखाको सेकेण्डरी अस्पताल रहेको छ ।

    भरतपुर नजिकै आँखाको सहरी क्लिनिक रहेको छ । चितवन, नवलपरासी  (बर्दघाट–सुस्ता पूर्व), धादिङ्, तनहुँ, बारा, पर्सा, सर्लाही र सिन्धुलीमा १७ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । 

    अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले सहरसँगै ग्रामीण क्षेत्रमा आँखाका बिरामी विभिन्न कारणबाट अस्पतालसम्म आउन नसकेको भन्दै गाउँगाउँमा शिविरमार्फत उपचार दिने गरिएको बताउनुभयो ।

    शिविरहरुमा समस्या देखिएका बिरामीलाई सेकेण्डेरी अस्पताल र विशेषज्ञ अस्पतालमार्फत थप उपचार सेवा दिने गरेको उहाँले बताउनुभयो । अहिले नेपालमा उपलव्ध अधिकांश आँखा उपचार सेवा दिन अस्पताल सक्षम रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?