११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइँदै



फाइल फोटो
  • आफ्नै खबर
  • १७ साउन २०८१ बिहिबार (१२ महिना अघि)
  • पाठक संख्या १४८
  • ललितपुर/  वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइने भएको छ । ललितपुर महानगरपालिकाको पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका ७ गाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पुर्याइनलागेको हो । 

    गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार ७ गाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा, झाँकि सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘परम्परागत जात्रा, पर्व, धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।’

    आज दिउँसो ४ बजपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी सस्थान प्रमुख आचार्यले भन्नुभयो, ‘रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पुर्याइएको ४ दिनपछि  राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’ 

    गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालमा रहेको मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ । 

    यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १ हजार ६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब २ महिना चल्छ । आचार्यले भन्नुभयो, ‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ । ६ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने गरिन्छ ।’

    ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ । उहाँले भन्नुभयो, ‘रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ, भन्ने किम्बदन्ती छ, सप्तपाताल पोखरीको विनाससँगै यो प्रचलन रोकिएको थियो, यसपटक हामीले पोखरीको पुनःनिर्माण गरिसकेका छौँ । अव यो परम्परा पुनःजीवित हुनेछ ।’ ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।

    -रासस