१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कक्षा १२ को नतिजा प्रकाशित : ५३ प्रतिशत उतिर्ण



  • आफ्नै खबर
  • १८ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ७७
  • भक्तपुर/  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । 

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा ३ प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

    बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ १ लाख ९३ हजार ९ सय ३३ छात्र र १ लाख ९६ हजार ९ सय १४ छात्रागरी कूल ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । 

    परीक्षामा ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ५ सय ९१ रहेको छ । जसमा बागमती प्रदेशबाट ६ हजार ७ सय ५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जिपिए ल्याएका छन् । 

    त्यसैगरी ४६ हजार ८ सय ९३ विद्यार्थीले ३.२१ देखि ३.६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले २.८१ देखि ३.२० सम्म जिपिए ल्याएका छन् । 

    परीक्षामा १ लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार ५ हजार ६ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने १ सय २ विद्यार्थीको परीक्षा रद्द गरिएको छ । 

    ग्रेड वृद्धितर्फ २०७८ र ०७९ सालका २८ दशमलव २६ प्रतिशत र २०७६ र ०७७ सालका ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

    बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?