१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

अलैँचीको मुल्य बढ्यो तर बोट मासिँदै 



  • आफ्नै खबर
  • १८ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ४४
  • इलाम/  पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।

    गत वर्ष प्रतिमन अर्थात ४० किलो अलैंची ८० हजार रुपैयाँमा बिक्री भएकोमा यस वर्षको सुरुमा ८५ हजार रुपैयाँ प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन् ।’ यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उहाँले बताउनुभयो । मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ । 

    समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा ५ रुपैयाँका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

    किसान पोख्रेलका अनुसार अलैँची लगाएको ३ वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ ।’

    वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । 
    नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपेली देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ । हाल ८५ हजार रुपैयाँ प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य बढेर १ लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको उहाँको भनाइ छ । 

    पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ५० लाख १८ हजार किलो अलैँची निर्यात हुँदा ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको करोबार भएको थियो । आव २०७९/८० मा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९९ लाख ९१ हजार किलो अलैँची निर्यात भएको थियो  ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?