१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह



  • आफ्नै खबर
  • १९ साउन २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या १९६
  • चितवन/  बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमाहरुलाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो ।

    विश्व स्तनपान सप्ताहका अवसरमा आयोजित ‘स्तनपानको महत्व ः चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उहाँले बच्चाको माया ममता पनि कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।’

     स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा. गुप्ताले बताउनुभयो । शिशुलाई जन्मिएदेखि ६ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उहाँको भनाइ छ ।

    बालरोग विशेषज्ञ डा. गुप्ताले भन्नुभयो, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उहाँले भन्नुभयो, ‘तातो पानीमा अर्काे भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।’

    शिशु जन्मिएको ६ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उहाँले बताउनुभयो । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उहाँले बताउनुभयो । 

    अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उहाँले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुनेमा जोड दिनुभयो ।  

    कार्यक्रममा भरतपुर अस्पतालकका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा. डा. सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताउनुभयो । नवजात शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उहाँको भनाई थियो । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुनेमा उहाँले जोड दिनुभयो ।  

    स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उहाँले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताउनुभयो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको १ घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कम्तीमा पनि २ वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पु¥याउँछ ।’ पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उहाँले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिनुभयो ।

    पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफू कहाँ आउने गरेको भन्दै डा. पोखरेले भन्नुभयो, ‘स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।’

    कार्यक्रममा डा. पोखरेलले पछिल्ला वर्षहरुमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या घटेको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ९ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । 

    उहाँका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा नगर स्वास्थ्य क्लीनिक तथा स्वास्थ्य सेवाको पहुँच पुर्याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवा अवस्थाका जनशक्तिहरु विदेशपलायन हुनुले सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको हो ।

    -रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?