जुम्ला/ पातारासी गाउँपालिकाले १ वर्षमा २ सय ६४ वटा आयोजना सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा २ सय ६८ योजना सम्झौता भएकोमा २ सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई संचालनमा आएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर रावलका अनुसार पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि १२ करोड ३६ लाख रुपैयाँ बजेट खर्च भएको छ । कूल योजनाको ५ प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ ।
पालिकाले सोही आर्थिक वर्षमा २ हजार मिटर सडक ग्राभेल निर्माण सम्पन्न गरिएको छ । ८ हजार ५ सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार २ सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिनुभयो ।
गत आवमा पालिकाको विनियोजित ४४ करोड ८५ लाख रुपैयाँ बजेटमध्ये कूल बजेटको जम्मा ८१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ १७ करोड ६५ लाख रुपैयाँमध्ये १२ करोड ४२ लाख रुपैयाँ अर्थात् ७० दशमलव ३४ प्रतिशत खर्च भएको छ । त्यस्तै चालुतर्फ २७ करोड २० लाख रुपैयाँमध्ये २४ करोड ११ लाख रुपैयाँ अर्थात् ८८ दशमलव ६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ ।
भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । विकास निर्माणलाई सही रुपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस