१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सौर्य उर्जाबाट खानेपानी ‘लिफ्ट’



  • आफ्नै खबर
  • २० साउन २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या ८३
  • म्याग्दी/  मङ्गला गाउँपालिका–२ र्यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो । 

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट १ सय ९ मिटर माथि रहेको ट्याङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिसेकेण्ड २ लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो । 

    ९२ लाख २५ हजार रुपैयाँको लगानीमा र्यालेखोर, खुुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताउनुभयो । उहाँले र्यालेखोर र भाइवाङका १ सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ । 

    ‘यसअघि ४/५ घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो’, आचार्यले भन्नुभयो, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।’ मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उहाँको भनाइ छ । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । 

    नेवाको ३८ लाख ७१ हजार रुपैयाँ, मङ्गला गाउँपालिकाको २७ लाख रुपैयाँ अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । 

    अध्यक्ष आचार्यका अनुसार उपभोक्ताबाट श्रमदान गर्नुका साथै थप ३ लाख ७५ हजार रुपैयाँ नगद सङ्कलन गरिएको थियो । स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताउनुभयो । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उहाँको भनाइ छ । 

    नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप २ ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?