१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बाँझो जग्गा फलफूल खेतीमा परिणत हुँदै



  • आफ्नै खबर
  • २० साउन २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या १०१
  • भोजपुर/  बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलपूmल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । 

    ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको १ सय रोपनीभन्दा बढी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यवसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका ८ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताउनुभयो । यस वर्ष ८ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको अनुमान छ । 

    यस्तै  टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आउनुभएको छ । बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलपूmल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उहाँले बताउनुभयो । नेपालले हाल वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । 

    सिँचाई अभाव, बसाइँसराईलगायतका कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताउनुभयो । जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत ५ वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा ३ वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आउनुभएको छ । 

    गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताउनुभयो । अर्का कृषक हरि गौतमले पछिल्लो समय कृषकमा देखिएको फलपूmल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताउनुभयो । यस्ता कृषकलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?