खोजिरहेको छु
समेटेर सारीको टुप्पोमा
अलिकति शर्मको पोको ।
दौराको तुनामा झुन्डिएको
थोरै स्नेह र भाइचारा ।
वल्ला घरे, पल्ला घरे
नुनतेल, चामलको पैँचो ।
अगेनो सल्काउन
छ्वालिमा बलेको कोइला ।
मकैको खोस्टामा
राखेर बिगौती प्रेमको ।
सम्झिरहेछु
समेटेर आमाको चौबन्दीमा
अलिकति न्यानोपन ।
इस्टकोटको गोजीको पिप्लामेट
जिन्दगीको त्यो मिठास ।
थोरै अनुशासन र हिम्मत
माया अनि आदरभावपूर्ण संस्कार ।
त्यो बलियो आफ्नाको सुरक्षा घेरा ।
मनभरी बिश्वास र आस्था ।
लत्याएर सबै सबै
देखेर हाम्रा हर्कतहरु
लजाइरहेछ आज
पर क्षितिजपारी
बाँकीरहेको अलिकति लज्जा ।।
लक्ष्मी ‘रेशमी’
चन्द्रपुर, रौतहट
प्रतिक्रिया दिनुहोस