२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

हलेसीमा डेढ करोड लगानीमा बन्यो हवन कुण्ड



  • आफ्नै खबर
  •     (९ महिना अघि)
  • पाठक संख्या १२१
  • खोटाङ/  त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ४४ लाख ८४ हजार रुपैयाँमा निर्माण गरिएका २ हवन कुण्ड आजदेखि सञ्चालनमा ल्याइएको हो । 

    हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनुभयो । 

    त्रिधार्मिकस्थल हलेसी गुफाको प्रमुख प्रवेशद्धारको बाँयापट्टि निर्माण गरिएको हवन कुण्ड कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटनपछि निवर्तमान मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी ३ धर्मको धार्मिक राजधानी भएको दाबी गर्नुभयो । 

    ‘हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल भएको ठाउँ संसारमा कहीँ पनि छैन, हलेसी ३ धर्मको सङ्गमलस्थल भएकाले धार्मिक राजधानी हो’, उहाँले भन्नुभयो, ‘त्रिधार्मिकस्थल हलेसीसहित पूर्वका ३ धार्मिकस्थलको पवर्द्धन गर्न आफू नेतृत्वको प्रदेश सरकारले योजना बनाएको छ, प्रदेश सरकारले बनाएको योजनामा हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन पवर्द्धन गर्ने उद्देश्य राखिएको छ । यसै योजनाअन्तर्गत त्रिधार्मिकस्थल हलेसीमा कोशी प्रदेश सरकारको सहयोगमा हवन कुण्ड निर्माण गरिएको हो, यसले विश्वको ध्यान केन्द्रित गर्दछ ।’ 

    उक्त हवन कुण्ड वैशाख २२ गते निवर्तमान मुख्यमन्त्री कार्की आफैँले शिलान्यास गर्नुभएको थियो । भुइँ ढलान तथा फलामे ट्रस प्रयोग गरेर निर्माण गरिएको हवन कुण्ड तोकिएको समयभन्दा ४ दिनपछि ठेकेदार कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

    धार्मिकरुपले मात्र नभई प्राकृतिकरुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समितिसमेत लागिपरेको छ । 

    हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दाँयापट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाखा)समेत निर्माण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ बाट निर्माण सुरु गरिएको अतिथिगृह सुरुमा सबै लगानी आयल निगमको हुने भनिएको थियो । 

    आयल निगमबाट २ करोड रुपैयाँमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेर अतिथिगृहको भौतिक संरचना निर्माण सम्पन्न गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । करिब ५ करोड रुपैयाँ लगानीमा सम्पन्न हुने अतिथिगृहको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 

    यसैबीच, विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु भएको आज तेस्रो हप्ता अर्थात् तेस्रो (सोमबार) पनि उत्तिकै मात्रामा गेरुवस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी मन्दिर ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् । 

    -रासस