१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

मौवाको मदिरा उत्पादनमा लुम्बिनी सरकारको चासो



  • आफ्नै खबर
  • २४ साउन २०८१ बिहिबार (४ महिना अघि)
  • पाठक संख्या ५०
  • बर्दिया/  थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको हो । 

    थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताउनुभयो । मौवा संरक्षण अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरको थारू सामुदायिक वनको १.३ हेक्टर खाली जग्गामा २ हजार ७४ वटा बिरुवा रोपिएको छ । 

    डिभिजन वन कार्यालयले १ वर्षे र बहुवर्षे गरी १ लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब १ लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४.९२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण भएको बताइएको छ । 

    प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताउनुभयो । मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दैै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेश सरकारको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा अधिक प्रयोग हुने गरेको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?