झापा/ प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताउनुभएको छ । झापाको अर्जुनधारामा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले यो वर्षदेखि फलफूल जङ्गल (फ्रुट फरेष्ट)को अवधारणाका लागि मन्त्रालयले बजेटसमेत् छुट्याएको जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘वन क्षेत्रका वन्यजन्तुलाई वनभित्रै आहार व्यवस्थापन गर्ने सोचका साथ यो अवधारणा अघि सारिएको हो ।’ वन जङ्गलमा पाइने विशेष प्रकृतिका फलफूल संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वनमा आश्रित पशुपन्छीको आहारा व्यवस्थापनका लागि यसै वर्षदेखि सुरु गरेको पशुपन्छी बास बगैँचा कार्यक्रमको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘मान्छेले मात्र होइन, सबै पशुपन्छीले खान पाउनुपर्छ ।’
पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व सङ्कटमा पर्ने भन्दै पर्यावरण संरक्षणमा उहाँले जोड दिनुभयो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले सामुदायिक वनबाट निस्किने जङ्गली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पु–याउँदै आएकाले सोको न्यूनीकरण गर्न सामुदायिक वनमा पशुपन्छीमैत्री बिरुवा रोप्ने अभियान सुरु गरिएको बताउनुभयो ।
‘पशुपन्छी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘पशुपन्छीलाई वनभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौँ ।’ पशुपन्छी बास बगैँचा कार्यक्रमका लागि नगरले १० लाख रुपैयाँ बजेट छुट्याएको उहाँले बताउनुभयो ।
वन परिसरभित्र उपसभामुख राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, नगरप्रमुख गोम्देन, नेपाली सेनाका सहायक रथी युधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईंलगायतले वृक्षरोपण गर्नुभएको थियो ।
नगरको ‘पशुपन्छी बास–बगैँचा कार्यक्रम’ का लागि नेपाली सेनाको अरिदमन गणले अमला, तित्री, हर्रो, बर्रो, अम्बक, लिच्ची र जामुनको २ हजार बोट बिरुवा प्रदान गरेको छ । नगर क्षेत्रका सामुदायिक वनमा ५ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस