१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नागरिकताभन्दा राहदानी लिने झण्डै दोब्बर



  • आफ्नै खबर
  • २४ साउन २०८१ बिहिबार (४ महिना अघि)
  • पाठक संख्या ७१
  • तनहुँ/   जिल्लामा १ वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ७ सय ७७ राहदानी वितरण गरेको छ । 

    राहदानी लिनेमध्ये ६ हजार ७ सय ३४ महिला र ९ हजार ५३ पुरुष रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा १६ हजार ७ सय ४३ राहदानी सिफारिस गरिएको छ । 

    कार्यालयले १ वर्षको अवधिमा ८ हजार ९ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा ८ हजार ९ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा ९ जनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये ४ हजार ७ सय २८ महिला र ४ हजार २ सय २६ पुरुष छन् । 

    यसैगरी, ७ हजार ६ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा ९ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

    वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । उहाँका अनुसार कार्यालयबाट ५ सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार २ सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छभने १ हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । 

    ८ सय ४५ लाई जनजाति प्रमाणित, ४ सय १८ लाई दलित प्रमाणित, १ सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छभने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ । 

    सोही अवधिमा कार्यालयमा १ सय ४५ मुद्दा दर्ता भएकामा ७९ फछ्र्यौट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, ६ सय ८७ नवीकरण, हातहतियारतर्फ ३ नवीकरण र १ नामसारी भएका छन् । 
    कार्यालयले संस्था दर्ताबाट १० लाख ३० हजार रुपैयाँ, हातहतियारबाट ६ लाख १ हजार रुपैयाँ, राहदानी दस्तुरबाट ८ करोड ४६ लाख ५३ हजार रुपैयाँ, न्यायिक दण्ड जरिवानाबाट ११ लाख ५१ हजार रुपैयाँ, प्रशासनिक दण्ड/जरिवाना र जफतबाट २ लाख २३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ ।

    -रासस
     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?