१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी



  • आफ्नै खबर
  • २७ साउन २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या ५४
  • पर्वत/  जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

    ३ वटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन ।’ गोब्रे च्याउ प्रतिकेजी ५ सय रुपैयाँ र कन्ये २ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । 

    कच्चा पदार्थसहितका साम्रगी तयार गर्नुभएकी किसान खत्रीले ७ रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आउनुभएको छ । खत्रीले भन्नुभयो, ‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु ।’ श्रीमान्को सहयोगमा उत्पादित सागसब्जी बजार पुर्याउने गरेको उहाँले सुनाउनुभयो । 

    जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?