आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

गाउँमै छ आर्थिक आधार, मासिक ५० हजार दिने मौरीको घार


  • आफ्नै खबर
  • २०८१ श्रावण २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • रामेछाप/  रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ । सानै उमेरमा सहर पस्नु भएका मगर कोरोना कहरका कारण गाउँ फर्किनु भएको हो । 

    कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गर्नुभयो । कुखुराबाट खासै आम्दानी नभएपछि उहाँले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिएर मौरीपालन सुरु गर्नुभएको हो । 

    सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गर्नुभएका उहाँले भन्नुभयो, ‘त्यसपछि मैले ६ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको ३ वर्ष भयो आम्दानी राम्रै छ ।’ उहाँले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्नु हुन्छ । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उहाँको अनुभव छ । मह र घार बिक्रीबाट उहाँले वार्षिर्क खर्च कटाएर ६ लाख रुपैयाँ कमाइ गर्ने गरेको बताउनुभयो । 

    आर्थिक वर्ष २०८०÷८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उहाँले रामेछाप नगरपालिकाबाट ३ लाख रुपैयाँ अनुदान प्राप्त गर्नुभयो । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उहाँ खुसी हुनुहुन्छ । 

    उहाँले १ लाख १५ हजार रुपैयाँ लगानी गरी मौरीपालन सुरु गर्नुभएको थियो । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उहाँको भनाइ छ । पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उहाँको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् । मेलिफेरा जातका मौरीले वर्षमा ४÷५ पटक मह उत्पादन गर्छ । यसले १ पटक मह काढ्दा १ घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा २ पटक मात्र मह निकाल्न मिल्ने उहाँले बताउनुभयो । 

    अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उहाँले माउ उत्पादनमा जोड दिनुभएको छ । उहाँले उत्पादन र निर्माण गर्नुभएको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्नुहुन्छ । सेरेना जातको माहुरीको मह प्रतिकेजी १ हजार रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री गर्नु हुन्छ ।

    १८ वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसक्नु भएका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्न्ुाहुन्छ, ‘देशका युवा लाइन लागेर विदेश गएको  देख्दा आफूलाई पनि जाउँ जाउँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरुको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमैे काम गर्न थालेका हुँ ।’

    मौरीपालन सुरु गरेको २ वर्षसम्म लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उहाँको अनुभव छ । कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । सोही अनुसार सुनापति गाउँपालिकाले उहाँसँग १ सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उहाँ बताउनुहन्छ । 

    मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन निकै समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लाहरुमा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाप्रोले दुःख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ । 

    उहाँले अर्को वर्षसम्ममा ३ सय घार मौरी पाल्ने योजना बनाउनुभएको छ । प्रायः मौरीपालक किसानहरुले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरेपनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उहाँको भनाइ छ । 

    मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘घार फुटाएपछि मौरीहरुले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरुले ३÷४ दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन ।’

    रानी हराएको अवस्थामा २÷३ दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि ३÷४ दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताउनुभयो । उहाँले उत्पादन गर्नुभएको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारहरुमा बिक्री हुने गरेको छ ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु