१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा



  • आफ्नै खबर
  • २८ साउन २०८१ सोमबार (४ महिना अघि)
  • पाठक संख्या ५४
  • बागलुङ/  जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा उक्त कार्यक्रम सफल भएपछि जिल्लामा आलु उत्पादन बढाउन यस वर्ष पनि आलुखेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।

    चालु आवको कुल बजेटको ३५ प्रतिशत आलुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापनलगायत क्षेत्रमा विनियोजन गरिएको केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रमका लागि १ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन आयोजनाअन्तर्गत सिँचाइ पूर्वाधार सहयोग, यन्त्रिकीकरण, बाली कटानी, प्याकेजिङ तथा बजारीकरण, बीउ उत्पादनमा सहयोग र बीमा शुल्कमा अनुदानलगायत कार्यक्रम ल्याइएको प्रमुख सिलवालले बताउनुभयो । आलु प्रवर्द्धन कार्यक्रमले उत्पादन र खेतीको क्षेत्रफल वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । 

    केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यन्त्रिकीकरण, सिँचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बीमालगायत कार्यक्रम गरिने प्रमुख सिलवालले जानकारी दिनुभयो ।

    ‘केन्द्रले आलुु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष आलुखेती विस्तार भएको थियो’, उहाँले भन्नुभयो, ‘जिल्लामा आलु र सुन्तलाको सम्भावना बढी हुनाका साथै आम्दानी पनि बढी हुने भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।’ उहाँका अनुसार १ वर्षमा २० करोड रुपैयाँको सुन्तला निर्यात भएको छ भने गत वर्ष २ हजार ७ सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको थियो । 

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?