१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिका लागि सहकार्य



  • आफ्नै खबर
  • २८ साउन २०८१ सोमबार (४ महिना अघि)
  • पाठक संख्या ६४
  • काठमाडौं/  त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन् । रङ्गशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतबार सम्बद्ध मन्त्रालयहरु, त्रिवि र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिबीच छलफल भएको हो । 

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङका अनुसार छलफलमा आवश्यक नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति भएको छ । नवगठित सरकारको पहिलो निर्णयका रुपमा मन्त्रिपरिषद्ले गत असार १३ गते आगामी ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने निर्णय गरेको थियो । 

    क्रिकेट मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णयमा उल्लेख छ । सदस्यसचिव घिसिङले भन्नुभयो, ‘उक्त निर्णयअनुसारका संरचना निर्माण गर्न त्रिवि, राखेप र शिक्षा, अर्थ तथा सहरी विकास मन्त्रालयबीच समन्वय गर्नुपर्ने भएकाले संयुक्त बैठक गरेर अघि बढेका हौँ ।’ 

    उहाँका अनुसार रङ्गशालामा फ्लडलाइट निर्माण गर्न यस अघि ‘टेन्डर’ गर्ने निर्णय भएको थियो । उक्त टेन्डरबारे सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन परेका कारण प्रक्रिया स्थगित भएको हो । उक्त समितिबाट निर्णय आएपछि काम अघि बढ्ने उहाँले बताउनुभयो । यसैगरी, प्यारापिट निर्माण गर्न गुरुयोजना तयार भए पनि ठूलै बजेट आवश्यक भएकाले सहरी विकासमार्फत योजना सञ्चालन गर्ने तयारी छ । 

    रङ्गशालाको स्तरीकरणका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट एसोसिएसन क्यानबीचको जग्गा भाडा सम्झौतासमेत नवीकरण गर्नुपर्ने अवस्थामा रहेको सदस्यसचिव घिसिङको भनाइ छ । त्रिविको आन्तरिक रङ्गशालाका रुपमा रहेको उक्त मैदान २०५२ सालमा २५ वर्षका लागि क्यानले भाडामा लिएको थियो । त्यसको नवीकरण र अब बन्ने संरचनाका लागि त्रिविको सहमति आवश्यक हुने उहाँले बताउनुभयो । 

    बैठकमा सहभागी त्रिवि रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले संरचना निर्माणका लागि त्रिविले गनुपर्ने नीतिगत एवं व्यावहारिक निर्णयहरु शिक्षा मन्त्रालयबाट भएको पत्राचारका आधारमा गर्ने जानकारी दिनुभयो । त्रिविको जग्गा भाडासम्बन्धी विषय त्रिवि सभाले निर्णय गर्नुपर्ने बताउँदै उहाँले हाल त्रिविको जग्गाको उपयोग सम्बन्धमा प्रश्न उठिरहेकाले जग्गासम्बन्धी विषय संवेदनशील भएको उल्लेख गर्नुभयो ।   

    क्यानका सचिव एवं पूर्वराष्ट्रिय कप्तान पारस खड्काले प्रधानमन्त्रीको निर्देशनसहित राज्यकै उच्च प्राथमिकतामा परेका कारण यसपटक क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको बन्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा एउटा ठूलो क्षमताको र स्तरीय रङ्गशालाको आवश्यकता धेरै अघि देखि महसुस भएको हो । त्यसका लागि अहिले सरकारले प्राथमिकता राखेको छ यो सकारात्मक छ ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?