१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

झापामा सिञ्चित जग्गा १२ सय हेक्टर बढ्यो



  • आफ्नै खबर
  • २९ साउन २०८१ मंगलबार (४ महिना अघि)
  • पाठक संख्या ५२
  • झापा/  झापामा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा १ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा ६ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।

    आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित १० करोड ४५ लाख रुपैयाँको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति १ सय ३४.१७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।

    गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आव २०७९/८० देखि २०८३/८४ सम्म ५ वर्षमा ७ हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत २ वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन ।’

    आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि ५ वर्षमा २ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बजेट लाग्ने अनुमान छ । २ आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय प्रगति १४ प्रतिशत प्रगति र भौतिक प्रगति १८.८६ प्रतिशत छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?