१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव



  • आफ्नै खबर
  • ३० साउन २०८१ बुधबार (४ महिना अघि)
  • पाठक संख्या १०३
  • काठमाडौं/  गोकर्णेश्वर नगरपालिकाको नारायणटारमा रहेको नेपाल अपाङ्ग सङ्घको परिसरमा सञ्चालित नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ । विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो ।

    अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) उपलब्ध गराएको थियो । त्यस अवसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले शिक्षा र स्वास्थ्य नगरपालिकाको प्रमुख प्राथमिकता रहेको जानकारी गराउँदै नगरक्षेत्रका ४२ हजार नागरिकलाई स्वास्थ्य बिमामा समेटेको जानकारी दिनुभयो । अस्पतालका मेडिकल निर्देशक डा. कैलाशकुमार भण्डारीले अस्पतालबाट उपलब्ध सेवाका बारेमा जानकारी दिँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘स्वास्थ्य बिमा कार्यक्रममा अस्पताललाई सूचीकृृत गराउन सकेका छौँ । अस्पतालले प्रत्येक वर्ष कम्तीमा ४ पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया निःशुल्क उपलब्ध गराउनेगरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।’

    निर्देशक भण्डारीका अनुसार १ सय शय्या रहेको उक्त अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सक सेवारत छन् । अस्पताल सञ्चालक समिति सदस्य डा. प्रमोदकुमार श्रेष्ठले यस अस्पताललाई अर्थोपेडिक उपचारसम्बन्धी शिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

    अस्पतालका अध्यक्ष साम्देन लामा, गोकर्णेशवर नगरपालिका–६ का वडाध्यक्ष नवराज लामा, वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी, कर्मचारी युनियनका अध्यक्ष आलोक झाले अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाउनुभएको थियो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?