इलाम/ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिकाले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।
प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तर्क्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तर्क्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।
लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताउनुभयो । अध्यक्ष केरुङले भन्नुभयो, ‘पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुर्ब्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको छ । उहाँहरु समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गरिनेछ ।’
वडा नं ३ बाट सुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्याइने उहाँले बताउनुभयो । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिइने उहाँको भनाई छ ।
खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्नेहरु बढेका प्रहरीले जनाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशमा १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका अनुमान छ । उनीहरु १५ देखि ५० वर्ष उमेर समूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेका जनाइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागुऔषधको दुरुपयोग गरिरहेका छन्भने तीमध्ये ३ करोड ९५ लाख विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् ।
प्रतिक्रिया दिनुहोस