आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न चियाखेती


  • आफ्नै खबर
  • २०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँ/  जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । 

    ऋषिङ गाउँपालिकाले वडा नं. ३ मा रहेको दुवुङकोटमा बिहीबार १ हजार ५ सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कको बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा ४ हजार २ सय बेर्ना सारेको छ ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रुपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको १ सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो । 

    स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परीक्षणका रुपमा चियाखेती गरिएको उहाँले बताउनुभयो । चिया बगानका माध्यमबाट दुवुङकोटलाई पर्यटकीयस्थलका रुपमा पनि  विकास गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ । 

    ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापा दुवुङकोटमा ‘भ्यूटावर’ पनि रहेकाले यो ठाउँ आन्तरिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ ।
    प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रमबमोजिम आँबुखैरेनीको बतासे डाँडामा चिया बगान बनाउने प्रयास भएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यहाँको हावापानी चिया बगानका लागि उपयुक्त भएकाले परीक्षणको रुपमा पहिलोपटक चियाका बिरुवा रोपिएको हो ।’

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु