१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

दु:खद खबर : सोलुखुम्बुको थामेमा भीषण बाढी



  • आफ्नै खबर
  • ३२ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ७९
  • सोलुखुम्बु/  खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । बाढीले थामे गाउँका १ होटल र २ घर बगाएको बताइएको छ ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले उक्त जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गर्नुभयो । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनुभयो ।

    प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न ५ घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागले सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?