१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नेपाल आउने रेमिट्यान्स बढ्यो, शोधनान्तर ५ खर्ब बचत



  • आफ्नै खबर
  • २ भदौ २०८१ आईतबार (३ महिना अघि)
  • पाठक संख्या ५९
  • काठमाडौं/  नेपालको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष  २०८०/८१ को वार्षिक तथ्याङ्कले अर्थतन्त्रका बाह्य सुचक बलियो देखाएको हो । 

    देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छभने शोधनान्तर स्थिति ५ खर्ब रुपैयाँभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ ।

    नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह २३ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेकोे थियो ।

    गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या ४ लाख ६० हजार १ सय र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार २ सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय र २ लाख ७७ हजार ३ सय रहेको थियो ।

    राष्ट्र बैङ्कका अनुसार गत आवमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । 

    गत आवमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

    गत आर्थिक वर्षमा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृध्दि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कायम भएको छ ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकामा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । 

    बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

    गत आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १ सय ८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् ।

    २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए । गत असार मसान्तमा देशको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड रुपैयाँ तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?