काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ क्षेत्रमा ३ दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी अब्बल बैंकरका रुपमा परिचित रहेको बैंकको दावी छ ।
उहाँसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेका रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गर्नुभएको छ ।
शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ् क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रेग्मी ग्लोबल आइएमई बैंकको सुरुवातदेखि नै हुनुहुन्छ । लामो समय बैंकिङ क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा नियामकीय निर्देशनहरुको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयरहोण्डरहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ ।’
पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधा, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितीलाई अझ मजवुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस