१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

क्यान्सर अस्पतालमा अतिरिक्त सेवा : ‘सिटीस्क्यान’ सेवा लिन  पालो कुर्नुनपर्ने



  • आफ्नै खबर
  • ३ भदौ २०८१ सोमबार (३ महिना अघि)
  • पाठक संख्या ७६
  • चितवन/  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने उक्त अस्पतालमा सेवा लिन विगतमा १ साता पालो कुर्नुपर्दथ्यो ।

    अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. नितु शर्माका अनुसार विभागमा रिक्त दुईजना रेडियोलोजिष्ट थप गरेर अतिरिक्त समयमा सेवा दिन थालेपछि पालो कुर्नुपर्ने बाध्यता हटेको हो । उहाँले भन्नुभयो, ‘नयाँ व्यवस्थापन आएपछि ५ वर्षदेखि रिक्त २ जनाको दरबन्दी पूरा भएको छ ।’

    यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० वजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा. शर्माले बताउनुभयो । विभागमा ७ जना रेडियोलोजिष्टको दरबन्दी  छ । यसअघि ५ जना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । 

    अस्पतालमा एमआरआई २ दिनमा पालो आउने गरेका छ । विभागीय प्रमुख डा. शर्माका अनुसार पहिले एमआरआई सेवा लिन २ सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो । भिडियो एक्सरेमा पालो कुर्नु पर्दैन । यो सेवा लिन पहिले २ दिनको पालो कुर्नुपथ्र्यो । भिडियो एक्सरे सेवामा पहिला एकजना रेडियोलोजिष्टले मात्र काम गर्दै आएकामा अहिले २ जनाले हेर्ने गरिएको छ ।
    अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालमा बिग्रिएर बसेको पुरानो सिटीस्क्यान मेसिन मर्मत गरिँदैछ । अहिले एउटा सिटीस्क्यान सञ्चालनमा छ । अस्पतालले खरिद गरेको नयाँ एक सय २८ स्लाइसको सिटीस्क्यान सञ्चालनमा छ । 

    चीन सरकारले दिएको पुरानो ६४ स्लाइसको सिटीस्क्यान बिग्रिएको छ । यसको मर्मतका लागि ट्युब भन्सारमा आइपुगेकाले यसै साता मर्मतसम्भार हुने उहाँको भनाइ छ । आज भन्सार छुटेर आउने उपनिर्देशक डा. नेपालले जानकारी दिनुभयो । पुरानो सिटीस्क्यान मर्मत गरिएपछि भित्री अङ्गको बायोप्सी निकाल्ने काम सिटीस्क्यानबाट गरिने उहाँले बताउनुभयो । यसलाई ‘इन्टरभेन्सन रेडियोलोजी’ भनिन्छ । हाल अल्ट्रासाउण्डबाट बायोप्सी निकाल्ने काम गरिएको छ ।

    अस्पतालमा नयाँ मेमोग्राम मेसिन भित्रिएको छ । स्तन क्यान्सर पहिचान गर्ने यो मेसिन विगतमा भए पनि बिग्रिएपछि अहिले नयाँ भित्र्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयमार्फत यो उपकरण अस्पतालमा आइपुगेको छ । सेप्टेम्बरको १ तारिख इटलीबाट सप्लायर्सका प्राविधिक आएर उपकरण जडान गर्नेछन् । उहाँले भन्नुभयो, ‘स्तन क्यान्सर पहिचानका लागि यो उपकरण अत्यावश्यक छ ।’

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, क्यान्सर अस्पताल र उपकरण उपलब्ध गराउने कम्पनीबीच सम्झौता भइसकेको उहाँले बताउनुुभयो । आधुनिक प्रविधिका उपकरण भएकाले यो निकै उपयोगी हुनेछ । ४ वर्षदेखि अस्पतालमा यो उपकरण नहुँदा बिरामी निजी अस्पतालमा जान बाध्य थिए । अस्पतालमा दैनिक २०–२५ जना बिरामी मेमोग्रामका लागि आउने गर्छन् । यो उपकरण स्वास्थ्य मन्त्रालयले खरिद गरेर क्यान्सर अस्पताललाई दिएको निर्देशक डा. पौडेलले बताउनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?