काठमाडौं/ आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त हुनुभएको छ । आइएमई लिमिटेड र जिएमइको मर्जर पछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गर्नुभएको हो ।
आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहनुभएका पौडेल रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्नुहुन्छ ।
आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत रहेको कम्पनीले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गर्नुभएका पौडेलले भारतको अहमदावादमा रहेको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्सबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गर्नुभएको जनाइएको छ । साथै उहाँले अमेरिकाको हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गर्नुभएको उल्लेख छ ।
उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायव कार्यकारी खिलेन्द्र पौडेलले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस