इलाम/ देउमाई नगरपालिकाले जन्मदर्ता वा मृत्युदर्ता गराएवापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता वा मृत्युदर्ता गराएवापत सहयोग उपलब्ध गराउँदै आएको हो ।
देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए ५ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका २ सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार रुपैयाँ पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगरपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिनुभयो ।
देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका ३ सय १२ सुत्केरीलाई १५ लाख ६० हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।
गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकारात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा देउमाईका २ सय ४ जना मृतकका परिवारले १० लाख २० हजार रुपैयाँ दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।
घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताउनुभयो । देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका १ सय ९० मृतकका परिवारलाई ९ लाख ५० हजार रुपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा देउमाईका १ हजार ७ सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट ३५ लाख ४ हजार रुपैयाँ पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई २ हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो । उनीहरुलाई नगरपालिकाले वार्षिक रुपमा एकमुष्ठ २ हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिनुभयो ।
देउमाईले आव २०७९/८० मा १ हजार ५ सय ७६ ज्येष्ठ नागरिकलाई ३१ लाख ५२ हजार रुपैयाँ पोसाक भत्ता उपलब्ध गराएको थियो । यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ । दीर्घ रोगीलाई औषधि खर्चवापत ५ हजार रुपैयाँका दरले १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाइले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई २ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराएको थियो ।
-रासस
प्रतिक्रिया दिनुहोस