१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान



  • आफ्नै खबर
  • ११ भदौ २०८१ मंगलबार (३ महिना अघि)
  • पाठक संख्या ५६
  • सिन्धुपाल्चोक/  जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए ।

    जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै ३ टन आलु बिक्रीका लागि काठमाडौँ पुर्याइएको बताउनुभयो । स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेको उहाँको भनाई छ । 

    आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं ६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकामा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टङ्क तामाङले बताउनुभयो ।

    उहाँले वडा कार्यालयले काठमाडौँ उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार चालु आर्थिक वर्षमा वडा न‌ं. ६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ । बर्खा याममा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उहाँले जानकारी दिनुभयो । 

    वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ ।’

    गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जुगलको मुख्य बजार ढाडेमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उहाँले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    मुडेको आलु भनेर चिनिने यो आलु जेठलको सिलढुङ्गामा सङ्कलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ ।  लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्वीस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् । जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । 

    राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताउनुभयो  । ‘आलु बेचेरै वर्षको २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु’, उहाँले  उत्साहित हुँदै भन्नुभयो, ‘५ हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लोे वर्षको तुलनामा अहिले राम्रै कमाइयो । आलु बेचेरै घरबार चलाइरहेको छु ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?