१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कोवाङमा बन्यो खेलमैदान



  • आफ्नै खबर
  • १५ भदौ २०८१ शनिबार (३ महिना अघि)
  • पाठक संख्या ६२
  • मुस्ताङ/  थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो । 

    प्रदेश सरकारको १७ लाख ५० हजार रुपैयाँ बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो । ‘आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो प्यारापिट बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘यसअघि ५० मिटर लम्बाइ भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ ।’

    खेलमैदान निर्माणपछि धुलो र हिलोमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धवलागिरि युवा क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताउनुभयो । फुर्सदको समयमा युवायुवतीलाई खेल अभ्यास गर्न सजिलो भएको छ । प्रतियोगिता आयोजना गर्न पनि सहज हुने गौचनले बताउनुभयो ।

    गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदान अभावमा खेल प्रतिभाले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरी कोवाङमा खेलमैदान निर्माण गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रममार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताउनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?