१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

टोकन प्रणालीले ओपिडीमा सहज



  • आफ्नै खबर
  • १५ भदौ २०८१ शनिबार (३ महिना अघि)
  • पाठक संख्या ७२
  • चितवन/  भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

    हरेक दिन बिहान ६ बजे अघि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा. डा. कृष्णप्रसाद पौडेल साइकलमा अस्पताल छिर्नुहुन्छ । बिहानीको व्यायामसँगै अस्पतालमा एक फन्को लगाएपछि उहाँ बिरामीको भीड व्यवस्थापन गर्न जानुहुन्छ ।

    मेसु पौडेलले आफूसँगै भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउनुहुन्छ । सुरक्षाकर्मीलाई काम लगाउन अस्पतालका कर्मचारी अजेस सुवेदीले साथ दिनुहुन्छ । मेसु प्रा. डा. पौडेल बिरामीको घुइँचोलाई व्यवस्थापनमा बिहानीको समय खर्चिनुहुन्छ ।

    अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिने र परीक्षण गर्न थालेका मेसु पौडेलले बताउनुभयो । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उहाँको भनाइ छ ।

    टोकन लिने समयमा बस्नका लागि केही ठाउँको व्यवस्थापन गरिएको छ । पहिले टिकट लिन झण्डै १ घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिनुभयो । 

    प्रा. डा. पौडेलले भन्नुभयो, ‘टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनाएका छौंँ । टोकनको पालो आएपछि काउन्टरमा गएर टिकट लिए पुग्छ ।’ उहाँका अनुसार बिदाको भोलिपल्ट अस्पतालमा एकै दिन २ हजार ७ सय भन्दाबढी बिरामी आएको तथ्याङ्क छ । 

    बिहानदेखि ओपिडी सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले बिरामीको घुइँचो भएपछि बहिरङ्ग सेवालाई विविधिकरण गरेको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टर सञ्चालन गरेको छ । जहाँ ७ बजेदेखि ९ बजेसम्म दीर्घरोगी, जेष्ठ नागरिकलगायत बिरामीलाई सामान्य परीक्षण गरेर औषधि थप गर्ने गरिन्छ ।

    ‘बिहान ८ बजेदेखि १२ बजेसम्म विशेषज्ञसहित सबैका लागि बहिरङ्ग टिकट खुल्ला हुन्छ । यहाँ ९ः३० बजेदेखि ४ बजेसम्म परीक्षण हुने गर्दछ ।  पुनः १ देखि २ बजेसम्म इएसएस, डेण्टल र जनरल ओपिडि (जिओपिड) का लागि टिकट काउन्टर खुल्ला रहन्छ । यी सेवा ५ बजेसम्म लिन सकिन्छ’, डा पौडेलले भन्नुभयो, ‘समग्रमा हामीले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ३ सिफ्टमा सेवा दिएका छौँ ।’ 

    अस्पतालमा पछिल्लो समय एमआरआई सेवा थप गरिएको छ भने क्याथल्याब खरिदका लागि बोलपत्र आह्वान भइसकेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा ४० शय्या सघन उपचार कक्ष (आइसियु), २० शय्याको एनआइसियु, ६ शय्याको पिआइसियुलगायत अति विशिष्टिकृत सेवा उपलब्ध छन् ।

    बिरामीको उच्च चापका कारण कतिपय शल्यक्रियाका बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था अन्त्य नभएको पौडेलले बताउनुभयो । उहाँका अनुसार ल्याबकोलीका बिरामीले १४ महिनादेखि पालो कुर्नुपर्नेमा हाल १ वर्षमा झारिएको छ । शल्यक्रिया कक्ष थप गरेर पालो कुर्नुपर्ने समय घटाउँदै लगिने उहाँले उल्लेख गर्नुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?