बागलुङ/ ७ वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चालित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ मा रहेको बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनमा ल्याइएको छ ।
नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई पुराना र दुई नयाँ घरबास सञ्चालनमा ल्याइएको हो ।
कोरोना महामारी, पूर्वाधार अभाव, प्रचारप्रसार तथा तालिम प्राप्त जनशक्ति नहुँदा सुस्ताएका यहाँका घरबास पुनःसञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाभित्र स्थापना भइसकेर नियमित नभएका २ र नयाँ २ घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको फाउण्डेसनका सचिव उमेश गौतमले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिकामा ४ स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने उद्देश्यले ४ घरबासका ८० जनालाई अहिले खानाका विभिन्न परिकार बनाउने, सञ्चालनको तरिका तथा पहुनाको स्वागतदेखि बिदाइसम्मको प्रक्रिया सिकाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार तालिमपछि सञ्चालक पूर्वाधार निर्माणमा केन्द्रित भएका छन् ।
शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनको तयारी भइरहेको छ भने धम्जा देउराली र खानीगाउँ सामुदायिक घरबासमा पूर्वाधार निर्माण भइरहेको गौतमले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा पर्या–पर्यटनमार्फत सीमान्तकृत युवा र महिलालाई रोजगारी सिर्जना गरी आयआर्जनसँग जोड्न घरबास सञ्चालनका लागि सहयोग पु¥याइएको फाउण्डेसनका सचिव गौतमले बताउनुभयो ।
घरबासलाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्यले तालिम दिइएको बताउँदै उहाँले सञ्चालकलाई घरबास व्यवस्थापन, स्थानीय पथप्रदर्शनसम्बन्धी जानकारी, आतिथ्यतालगायत विषयमा तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।
‘२०७५ सालमा जिल्लामा घरबास सञ्चालनको लहड नै चल्यो, पछि धेरै घरबास उचित व्यवस्थापन हुन नसक्दा बन्द भए, कतिपयले घरबास र होटलबीच फरक छुट्याउन सकेनन्’, सचिव गौतमले भन्नुभयो, ‘अहिले काठेखोलामा स्तरीय घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित सञ्चालनको तयारी थालेका छौँ । स्थानीय महिला तथा युवालाई आयआर्जनमा सघाउँदै पर्यटनसम्बन्धी गतिविधि बढाउन, घरबासलाई दिगो बनाउने अभियानमा छौँ । उहाँहरुलाई पाक कला, पथप्रदर्शन र स्वागत, सत्कारको विषयमा जानकारी गराएको छौँ ।’
काठेखोला गाउँपालिकाले घरबास प्रवर्द्धनका लागि सहकार्य गरेको गौतमले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ४ वटा घरबास सञ्चालनमा ल्याइएको छ ।
फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनका अनुसार काठेखोलामा ७ वर्षअघि दर्ता भएर नियमित हुन नसकेका शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनः सक्रिय गराइएको हो ।
पर्यटकीय क्षेत्रहरुमा घरबासका कारण आगन्तुकको आगमन हुने भएकाले स्वरोजगारसँगै पर्यटन प्रवर्द्धन गर्न धम्जाको पर्यटकीय सम्भावना बोकेको देउरालीमा सामुदायिक घरबास सञ्चालन गर्न थालिएको स्थानीय मेखबहादुर थापाले बताउनुभयो । धम्जामा यसअघि बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ ।
उहाँले पहिलो चरणमा १० घरबाट घरबास सञ्चालनको काम थालिएको बताउँदै ३ दिने घरबास व्यवस्थापन तालिम लिइसकेको जानकारी दिनुभयो । उहाँले घरलाई घरबासमा परिणत गर्न सरसफाइ, सुत्ने तथा भान्सा कोठा, शौचालय र स्नान घर निर्माणमा यहाँका स्थानीय जुटेको बताउनुभयो । धम्जाको देउराली गाउँ ताराखोला, तङ्ग्राम र धम्जाको केन्द्रमा पर्ने भएकाले पर्यटक भित्र्याउन समस्या नरहेको थापाको भनाइ छ ।
स्थानीय हिमालसागर श्रेष्ठले पहिलेदेखि देउराली व्यापारिक थलो भएको बताउँदै पर्यटकलाई व्यवस्थित खाने, बस्ने तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गराउने उद्देश्यले घरबास सञ्चालन गर्न थालिएको बताउनुभयो ।
व्यवस्थित घरबासको अभाव खड्किएको काठेखोला–८ लेखानीमा खानीगाउँ सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । फाउण्डेसनको सहयोगमा लेखानीका २० घरबास सञ्चालकलाई सक्रिय बनाएर तालिम दिइएको घरबास सञ्चालन तथा प्रवर्द्धनको साझेदार संस्था काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो ।
बसाइँसराइले सुनसान बन्न थालेका गाउँलाई घरबासमार्फत जागरुक बनाउन स्थानीय तहले महिलालाई पाक कला तथा सीप विकास तालिम दिइरहेको उहाँले जानकारी दिनुभयो । न्यून आयस्रोत भएका महिला र युवालाई लक्षितगरी घरबास सञ्चालनका लागि सञ्चालकलाई सक्रिय बनाइएको उपाध्यक्ष थापाको भनाइ छ ।
पर्यटकीय क्षेत्रको प्रचारप्रसारगरी आन्तरिक पर्यटन भित्र्याउने, स्थानीय उत्पादनसँग जोड्ने, उत्पादनलाई बजारीकरण गर्ने र स्थानीय पथप्रर्दशनसम्बन्धी सीप सिकाउनाले घरबास दिगो रुपमा सञ्चालनमा आउने काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
पर्यटकलाई चिया बगानदेखि हिमशृङ्खाला देखाउन सकिने भएकाले ७ वर्षअघि स्थापना गरिएका यहाँका घरबासलाई पुनःसक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस