१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन



  • आफ्नै खबर
  • १८ भदौ २०८१ मंगलबार (३ महिना अघि)
  • पाठक संख्या ५०
  • इलाम/  सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् । 

    सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताउनुभयो । ‘रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘यसलाई जिल्लाको कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।’ 

    किसान ठाकुर खतिवडाले भन्नुभयो, ‘पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ ।’ नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उहाँको बुझाइ छ । 

    सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा रोपिएका हरियो बिरुवालाई ग्राफ्टिङ गरेर रेड, गोल्डेनलगायत नयाँ प्रजातिका रुपमा विकास गर्न सकिन्छ ।’ उहाँका अनुसार यतिबेला यहाँका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ । 

    अन्य जातको किबीभन्दा रेडको उत्पादन चाँडो हुने बताउँदै ठाकुरले नेपालीको चाडपर्व अगाडि यो फल पाक्ने भएकाले किसानले उचित मूल्य पाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो चिल्लो, बाहिरी भागमा झुस नभएको हुन्छ । बाहिर हरियो भए पनि यसको भित्री भाग रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो ।’

    इलाममा व्यावसायिक रुपमा रेड किबीखेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवनठाडा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय जिल्लाका किसानको किबीप्रति आकर्षण बढ्न थालेको छ । रेड किबी साउन÷भदौमा उत्पादन हुन्छ । अन्य कात्तिक÷मङ्सिरमा मात्र उत्पादन हुने भएकाले चाडपर्वमा किसानले उचित मूल्य पाउँछन् ।’

    बर्खामा अन्य कृषि उत्पादनबाट आन्दानी कम हुने गरेकामा रेड किबीको उत्पादन हुन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । रेड किबीबाट प्रशस्त आम्दानी गर्न सकिने किसान ठाकुरले बताउनुभयो । उहाँका अनुसार प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँमा बिक्री हुन्छ ।  

    अन्य प्रजातिका किबीभन्दा रेड महँगोमा बिक्री हुने भएपछि खेती विस्तार हुँदै गएको कृषि प्रसार अधिकृत मगरले बताउनुभयो । उहाँका अनुसार यो फल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । जिल्लामा रेडसँगै गोल्डेन किबीको उत्पादन पनि सुरु भएको उहाँको भनाइ छ । 

    १ दशक अघिदेखि सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीखेती सुरु भएको हो । तत्कालीन समयमा मूल्य नभएको भन्दै किसानले बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए । किसान ठाकुरले हाल किबीसँगै विकल्पका रुपमा यहाँका किसानले अलैँचीखेती पनि गर्दै आएका बताउनुभयो । 

    रेड किबीको सेवनले मधुमेह, मुटुसम्बन्धी, मांसपेसीसम्बन्धी, क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने चिकित्सक बताउँछन् । सबै उमेर समूह र गर्भवतीका लागि पनि रेड किबी फाइदाजनक हुने कृषि प्रसार अधिकृत मगरले उल्लेख गर्नुभयो । रेड किबीबाट जुस, जाम र अन्य पेयपदार्थ बनाएर सेवन गर्न सकिने उहाँको भनाइ छ ।

    बोटमा नै पाक्नसक्ने यो फल टिपेको लामो समयसम्म राख्न मिल्दैन । चाँडोगरी गल्ने र बिग्रिने भएकाले रेड किबी टिपेर तत्काल सेवन गर्नुपर्ने किसान बताउँछन् ।  

    सन्दकपुर–३ को तालगाउँ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा किबीखेती बढी हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । सन्दकपुर गाउँपालिकाको ५ वटा वडा र इलाम नगरपालिका–१, २ र ३ मा किबी जोन कार्यक्रम सञ्चालन गरेर सरकारले खेती प्रवर्द्धनमा जोड दिँदै आएको छ ।

    पछिल्लो समय उक्त परियोजनाबाट उल्लेख्य सहयोग नपाएको किसानको भनाइ छ । सुरुमा ७ सय रुपैयाँ प्रतिकिलो किनबेच हुने गरेकामा हाल १ सयदेखि ३ सय रुपैयाँसम्ममा कारोबार हुने गरेको किसान खतिवडाले जानकारी दिनुभयो ।

    नेपालमा रातो गुदी भएको रेड, हरियो गुदी भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रुानो, एवोट, मचुवा र टिमोरी जातको किबी उत्पादन भइरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहेँलो गुदी भएको जेस्पिरी र गोल्डसमेत खेती तथा उत्पादन हुने गरेको छ । 

    उहाँले भन्नुभयो, ‘किबीको बिरुवा हिउँदमा लगाउने गरिन्छ । पात झरेको समयमा पुस र माघमा बिरुवा रोप्ने गरिन्छ । किबी बहुवर्षे फल हो । किबीफल लहरामा फल्ने पत्झर फलफूलअन्तर्गत पर्दछ ।’

    रेड किबी पाक्न थालेको बताउँदै मगरले अन्य किबी काँचो भएकाले अचारका रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म विश्वमा ७६ प्रकारका किबीका प्रजातिको पहिचान भइसकेको छ । 

    किबी नेपालको इलामसहित काभ्रेपलाञ्चोक, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खेती हुँदै आएको छ । पश्चिमी जिल्लामा पनि इलामबाट बिरुवा लगेर खेती हुन थालेको छ । 

    कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले भन्नुभयो, ‘यसको बिरुवा रोप्दा भाले र पोथी प्रजाति पहिचानगरी सँगसँगै रोप्नुपर्दछ । भाले, पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुन्छ ।’ यसलाई हाँगा (डाँठ) र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको भन्दै रोपेको चौथो वर्षदेखि आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो । 

    पहाडी भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्री सहतबाट १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषि विकास कार्यालय इलामले जनाएको छ ।

    जिल्लामा कूल ७ सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अघिल्लो वर्ष २ हजार ८ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?