१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विपन्न र अनाथ २७ जनाका ‘शैक्षिक अभिभावक’ बनेका छन् गरिबीका कारण आफुले पढ्न नपाएका खड्का 

‘मेरो २०७७ यता बर्सेनि सालाखाला छात्रवृत्तिमा १५ लाख खर्च हुने गरेको छ’, खड्का भन्नुहुन्छ, ‘तर मलाई खर्चको चिन्ता हैन, छात्रवृत्ति पाएकाहरूले राम्रो पढेर सीपयुक्त बनुन् भन्ने लाग्छ ।’



  • आफ्नै खबर
  • २१ भदौ २०८१ शुक्रबार (३ महिना अघि)
  • पाठक संख्या ८१
  • महोत्तरी/  ‘मैले पढ्ने कुरामा कहिल्यै पैसाको चिन्ता गर्नु परेन, अब फार्मेसी विषयको डिप्लोमा तह पार गर्ने ठाउँमा पुगेकी छु’, बर्दिबास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा फार्मेसी विषय अन्तिम वर्षको अध्ययन जारी राखेकी बर्दिबास–३ गौरीडाँडाकी वर्माशाखा भन्नुहुन्छ, ‘पद्मशम्शेर स्मृति प्रतिष्ठानले मेरो शैक्षिक शुल्कको पूरै भार उठाइदिएपछि ढुक्क भएर पढ्न पाएकी छु ।’

    २०७७ सालदेखि आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा बर्सेनि नयाँ शैक्षिकसत्र सुरु हुने बेला भएपछि खड्काले प्रतिष्ठानका तर्फबाट छात्रवृत्तिको प्रक्रिया थाल्नुहुन्छ । यसक्रममा हालसम्म (२०८० को नयाँ सत्रसम्म) २७ जनाको शैक्षिक शुल्कको अभिभारा प्रतिष्ठानले उठाएको छ । 

    दलित भनिने सार्की जाति समुदायकी वर्माशाखाजस्ता प्राविधिक धार र वाणिज्य तथा शिक्षा सङ्कायमा स्नातक गरिरहेका समेत अहिलेसम्म २७ जना छात्रछात्राको शैक्षिक अभिभावकत्व प्रतिष्ठानले उठाएको छ । यी सबैको शैक्षिक शुल्कको भार प्रतिष्ठानका तर्फबाट बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले उठाउनुभएको छ ।

    ‘बा कहाँ ? आमा कहाँ ? अगाडि पढ्न सकुँलाजस्तो लागेको थिएन’, आफ्नो भन्ने घर नभएकी बर्दिबास–१ मा डेरा गरी बसेकी कृति महत भन्नुहुन्छ, ‘तँ आँट, सघाउने तेराअघि आइपुग्छ भन्ने सुन्थे, मलाई त्यस्तै भयो, प्रतिष्ठानले मेरो पढ्ने रहर पूरा गरायो ।’ महत बर्दिबास–३ गौरीडाँडाको जनता माध्यमिक विद्यालयमा प्राविधिक धारको बाली विज्ञान विषयमा डिप्लोमा तहको अध्ययन गरिरहनुभएको छ ।

    २०७७ सालदेखि आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा बर्सेनि नयाँ शैक्षिकसत्र सुरु हुने बेला भएपछि खड्काले प्रतिष्ठानका तर्फबाट छात्रवृत्तिको प्रक्रिया थाल्नुहुन्छ । यसक्रममा हालसम्म (२०८० को नयाँ सत्रसम्म) २७ जनाको शैक्षिक शुल्कको अभिभारा प्रतिष्ठानले उठाएको छ । 

    ‘२०७७ देखि २०८० सम्मका २७ जना छन्, यसपालि (२०८१) का लागि छात्रवृत्तिमा ३ जनाको नाम छनोट भएको छ, अब उनीहरूले चाहेका शिक्षालयमा भर्ना पाउनेछन्’, खड्का भन्नुहुन्छ, ‘यो कामले मलाई स्वर्गीय आनन्द दिएको छ, पढ्ने कुरामा सहयोगी हुन पाउँदा मज्जाको खुसी पाइँदोरहेछ ।’

    ‘जीवनसँगै मृत्यु जोडिएको सत्य र मर्दा ४ हात कात्रोबाहेक केही साथ नजाने कुराले मलाई कमाइबाट केही पुण्य काम गर्नुपर्छ भन्ने चेत खुल्यो, यसमा मैले शिक्षालाई रोजें ।’

    नयाँ शैक्षिकसत्र सुरु हुनुपूर्व खड्काको व्यस्तता बढ्छ । अभिभावक नभएर वा अर्थाभावले नै उच्च शिक्षा र प्राविधिक धारको सीपयुक्त शिक्षा पढ्न नपाएकाहरूको खोजी गर्नु र उनीहरूलाई इच्छित विषय पढ्न सघाउन बस्तीबस्ती खोज्दै हिँड्ने गर्नुभएका खड्काको नयाँ शैक्षिकसत्र सुरु हुनासाथ व्यस्तता बढ्ने गरेको हो । 

    माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनसँगै खड्का नेतृत्वको पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले प्राविधिक धारको शिक्षा पढ्न चाहनेका लागि छात्रवृत्ति आवेदनको सूचना जारी गर्छ । त्यसलगत्तै आवेदकहरूको योग्यता परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र उत्तीर्णमध्ये अत्यन्त कमजोर अर्थावस्था र अभिभावकविहीन को–को छन् घरघरै पुगेर अनुगमन गरेपछि प्रतिष्ठानले छात्रवृत्ति पाउनेको अन्तिम सूची प्रकाशन गर्ने गरेको छ । 

    यसक्रममा सुरुदेखिका सबै प्रक्रिया स्थानीय प्रशासनका अधिकृत प्रतिनिधि, स्थानीय तहका शिक्षा शाखाका अधिकृत, स्वतन्त्र पत्रकार र शिक्षकहरू सम्मिलित छात्रवृत्ति निर्णायक समितिले गर्ने गरेको खड्काले स्पष्ट पार्नुभयो ।

    आफ्नो घरको गरिबीले उच्च शिक्षा लिन नपाएको बताउने खड्काले पछिल्ला वर्षहरूमा थालेका व्यवसायबाट केही आर्जन हुँदै गएपछि आर्जनको निश्चित प्रतिशत प्रतिष्ठान कोषमा जम्मा गरेर त्यसैबाट विपन्न र अभिभावकविहीनको पठनपाठन खर्च व्यहोर्दै आउनुभएको छ । 

    बर्दिबास चोकमा सञ्चालित होटल विनायक, विनायक बैङ्कुट र सगरमाथा हार्डवेयर पसल खड्काका व्यापारिक प्रतिष्ठान हुन् । ‘खासमा विनायक होटलले मलाई प्रतिष्ठानको सङ्कल्पमा सघाएको छ’, खड्का भन्नुहुन्छ, ‘जीवनसँगै मृत्यु जोडिएको सत्य र मर्दा ४ हात कात्रोबाहेक केही साथ नजाने कुराले मलाई कमाइबाट केही पुण्य काम गर्नुपर्छ भन्ने चेत खुल्यो, यसमा मैले शिक्षालाई रोजें ।’

    खड्का आफैँ संरक्षक रहनुभएको प्रतिष्ठान उहाँका स्वर्गीय माता पद्मकुमारी र पिता शम्शेरबहादुरका नाममा स्थापित संस्था हो । प्रचलित कानुनअनुसार दर्ता गरिएको यो संस्था शैक्षिक गतिविधिमा सघाउ पुर्याउने उद्देश्यले नै गठन गरिएको खड्का बताउनुहुन्छ । 

    छात्रवृत्तिले अहिलेसम्म ४ जनाले प्राविधिक धारको डिप्लोमा तह उत्तीर्ण गरी कोही उच्च शिक्षाका लागि र कोही कामका लागि विदेश गएका छन् ।

    ‘मैले एसएलसी पास गरेपछि गरिबीकै कारण अघि पढ्न पाइनँ, यो कुराले मलाई घोचिरहन्थ्यो, पछि केही आर्जन गर्नसक्ने भएँ, त्यसैले पढ्न अर्थाभाव भएकाहरूलाई सघाउने निधोमा पुगेँ’, खड्काले छात्रवृत्तिको नालीबेली खोल्दै भन्नुभयो । यस कुरामा आफ्ना स्वर्गीय पितामाताको इच्छा पनि पूरा गरेको सन्तोष मिल्ने गरेको खड्काको भनाइ छ । 

    उहाँ थप्नुहुन्छ, ‘मेरा बाआमा दुवैको २४ घण्टाभित्र निधन भयो, निधनअघि बाआमाले गरिब र अनाथलाई गर्न सकिछस् भने केही सहयोग गर्नु भन्नुभा’थ्यो, त्यो वचनले पनि मलाई झकझक्यायो ।’

    खडकाले शैक्षिक अभिभावकत्व लिएका छात्रछात्राले आफूहरूको परीक्षा अघिपछि फोन गर्ने गरेकोे र चाडपर्वमा सम्झने गरेको बताउनुभयो । शैक्षिक शुल्कको अभिभारामात्र नभएर उहाँ (खड्का) अन्य दुःखसुखका कुरा सुन्ने र निरन्तर वास्ता गर्ने घरकै अभिभावकसरह रहनुभएको अहिले निर्मल लामा बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ विषय डिप्लोमा तहको अन्तिम वर्षका छात्र अमर रसाइली बताउनुहुन्छ ।

    बर्दिबास नगरक्षेत्रलाई आधार बनाएर खड्काले सुरु गर्नुभएको छात्रवृत्तिले अहिलेसम्म ४ जनाले प्राविधिक धारको डिप्लोमा तह उत्तीर्ण गरी कोही उच्च शिक्षाका लागि र कोही कामका लागि विदेश गएका छन् । यिनीहरूको सफलताले आफूलाई यस कार्यमा झन् उत्प्रेरित गर्ने गरेको खड्का बताउनुहुन्छ ।

    शिक्षा क्षेत्र त्यसमा पनि प्राविधिक धारको पठनपाठन हुनुपर्ने खड्काको धारणा छ । खड्काले साधारण कलेजका स्नातक तहका विद्यार्थीलाई पनि सघाउनुभएको छ । तर सीपयुक्त शिक्षाले आर्थिक रूपमा आत्मनिर्भर बनाउन र आकर्षक रोजगारीको अवसर दिने हुँदा आपूmले प्राविधिक धारको पठनपाठनमा उत्प्रेरित गर्ने गरेको खड्का बताउनुहन्छ । 

    ‘मेरो २०७७ यता बर्सेनि सालाखाला छात्रवृत्तिमा १५ लाख खर्च हुने गरेको छ’, खड्का भन्नुहुन्छ, ‘तर मलाई खर्चको चिन्ता हैन, छात्रवृत्ति पाएकाहरूले राम्रो पढेर सीपयुक्त बनुन् भन्ने लाग्छ ।’ अहिलेसम्म बर्दिबास नगर क्षेत्रलाई मात्र आधार बनाएका खड्काले अब छिमेकका स्थानीय तहमा विस्तार गर्ने सोच बन्दै गएको बताउनुभयो । यस क्रममा बर्दिबाससँग सीमा जोडिएका महोत्तरीका स्थानीय तह थप्ने गरी सोचिएको उहाँको भनाइ छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?